‘Come to Learn, Go to Earn’

कामको महत्व बुझेर काम गरौं

कामको महत्व बुझि काम गरौं

हरि सुवेदी

हुन त कस्ले भन्छ र मैले केहि पनि गर्दिन वा केही पनि गरेको छैन् । सबैले आफ्नो जीवन चलाउन केही न केही त अवश्य नै गरेका हुन्छन् । प्रायः ब्यक्तिहरु आफ्नो हातमुख जोर्न, क्षमता, दक्षता देखाउन  विभिन्न ठाउँहरुको खोजीमा दिन रात लागि रहेका हुन्छन् भने कतिपय पाएको अवसरलाई चिन्न सक्दैनन् । पाएको अवसरको बेवास्ता गर्छन् ।
कामलाई थाती  राख्दा वा अरुलाई पन्छाउँदा उक्त कामका सरोकारवाला सबैलाई बेफाइदा हुन्छ । काम सार्ने वा अरुलाई पन्छाउनेलाई पनि थाहा हुन्छ मैले यो काम गर्नै पर्ने हो तर उनीहरु सकेसम्म भोली भनेर राख्छन् वा यो कामकालागि फलानालाई भेट्नोस भनि अर्को सहकर्मी तर्फ पठाउँछन् । कतिले त यो काम हाम्रो कार्यालयभन्दा पनि फलानो कार्यालयसँग सम्बन्धित छ भनेर सेवाग्राहीलाई दुःख दिन्छन् । कति त कसैलाई उचालेर वा चिफ्लो बोलेर, उसको प्रशंसा गरे झै गरेर कामको जिम्मेवारी सार्न खप्पिस हुन्छन् ।
शायद तपाईं हामी सबैले माथि उल्लेख गरिएका कुरा भोगेका छौं । कतिपय सेवा प्रदायक कहाँ जाँदा भोगेका पनि छौं । एक दिनको कुरा हो, म घरबाट काठ्माण्डौं कालिमाटीमा रहेको कार्यालय गै रहेको थिए । नजिकैको चौबाटोमा दुई जना ट्याक्सी चालकहरु आपसमा कुरा गर्दै ग्राहकको प्रतिक्षा गरिहेका थिए । एकछिन म टक्क अडिए ।उनीहरु ट्याक्सीचलाएर यस्तो यस्तो गर्ने आ–आफ्ना मनका योजनाहरु आपसमा साटी रहेका थिए । यत्तिकैमा मैले भने – ए भाई ट्याक्सी खाली छ ? एउटाले उत्तर दियो छैन् । त्यसपछि अर्कोलाई सोधे । उसले पनि छैन् भन्ने उत्तर दियो ।
मलाई अचम्म लाग्यो ट्याक्सी चलाएर भएको आम्दानीबाट आफु र आफ्नो परिवारको सुन्दर भविष्य निर्माण गर्ने योजना बनाउदै गरेका ब्यक्तिहरुको यो चाला देखेर ।
उनीहरु पेशागत रुपले ट्याक्सी चलाउन लागि सकेपछि सो समयको सदुपयोग गर्नु पर्दैनथ्यो र ? त्यतिबेला समयको सदुपयोग गरेको भए दुई चार सय रुपैयाभने पनि कमाई हुने नै थियो । यस्तै अर्को रमाइलो कुरा नेपालगञ्जको छ । एक जना रिक्सा चालक  खाली रिक्सालिएर कारकाँदौं चोकबाट धम्बोजी चोक गै रहेका थिए । बाटोमा एक जना ब्यक्तिले सोधे – रिक्सा खाली छ ?रिक्सा चालकले  छ भन्ने  जवाफ दिए ।
ति ब्यक्ति रिक्सा चढेर दुई किलो मिटर टाढा पुगेपछि भाडा सोधे ।  रिक्सा चालकले ग्राहक जानु पर्ने करिब तीन किलो मिटर जति दुरीको ६०रुपैया भने । रिक्सा चढेका ति ब्यक्तिले ३० रुपैया दिने बताए । रिक्सा चालकले मानेनन् । रिक्सामा चढेका ति ब्यक्ति उत्रिए । एक छिन पछि अर्को रिक्सा आयो । उनी ३० रुपैयामा उक्त दुरीको यात्रा गरे ।
निश्चय पनि रिक्सा चालकहरुले पनि यहाँसम्मको यति रुपैया लिने भनेर दर कायम गरेका होलान । खाली रिक्सा लैजानुको सट्टा ३० रुपैयामा लैजादा केही त आम्दानी हुने थियो । तर रिक्सा चालकको हठले मुखमा आएको पैसा समेत फुत्कियो ।उनले हठ भन्दा कामलाई महत्व दिएको भए ३० रुपैया भने पनि उनको पोल्टामा पर्ने थियो ।
यो कुरा टेम्पो चालक र रिक्सा चालकहरुले मात्र नबुझेको कहाँ हो र? हाम्रो देशमा धेरैले कामलाई भन्दा फूर्तिलाई महत्व दिने गरिएको छ । काम गर्नेलाई भन्दा गफ गर्नेलाई, क्षमता बिनाको फूर्ति लाउनेलाई महत्व दिने र काम चोरलाई पुरस्कृत गर्ने क्रम बढेको चर्चा भै रहेको छ । कामले भन्दा मेरो त सोर्सफोर्स छ भन्नेलाई ठूलो मान्ने गरिएको छ । हालसालैको कुरा हो । एउटा कार्यालयमा केही पदको लागि बिज्ञापन खोलिएको थियो । एक व्यक्ति आवेदन दर्ता गराउन आए । दर्तामा रहेका अर्को व्यक्तिले अनुभवको प्रमाणपत्र त छैन नि ? भनि बिज्ञापनले खोजेका आधारहरु तर्फ प्रश्न तेस्र्याए । उनले सजिलै जवाफ दिए । ए त्यो त भै हाल्छ नि । सो दिन उनी गए र अर्को दिन एक संस्थाबाट काम गरिरहेको अनुभव प्रमाणित हुने पत्र लिएर आए । उनको आवेदन दर्ता भयो ।
सोही बेलामा उनीसँग केही कुरा गर्ने अवसर मलाई पनि मिल्यो । उनले झ्वाट्टै भने अनुभवको प्रमाण पत्र त जति पनि बनाउन सकिन्छ नि सर । यसले केसङ्केत ग¥यो भने उनले पेश गरेको प्रमाण पनि नक्कली रहेछ, अहिले कतिपय डाक्टरहरुले किनेर ल्याएका भारतीय प्रमाणपत्रहरु जस्तै । त्यस पछि ति व्यक्तिले कहाँ कहाँ काम गरेका रहेछन भनेर बुझ्ने प्रयास गरेँ । जवाफमा पहिला पहिला यस्ता काम निकै गरिन्थ्यो आजकल भने फुर्सद छैन भनेर अट्किए ।
शायद पाठकहरुले ती व्यक्तिले भनेको कुरा बुझ्नु भयो होला । कामले उनको फुर्सद छैन रे तर काम गरेको अनुभव भने नक्कली छ । उनले आफूले जे काम गरिरहेका छन् त्यसलाई सानो काम ठानेका छन्, महत्व दिएका छैनन् । तर अर्को काम गर्न किर्ते गर्दै हिंडेका छन् । उनले आफूले गरिरहेको कामलाई राम्रो, गुणस्तरीय बनाउने प्रशस्त संभावना हुँदा हुँदै पनि अस्थिर मन, बिना योजनाको प्रयासले समय मात्र कटिरहेको आभाष हुन्छ । उनले पहिलादेखि गर्दै आएको कामबाट नै माथि उठ्ने विकल्प रोजे सबैभन्दा उत्तम हुन्थ्यो होला । नक्कली अनुभवको प्रमाण ल्याएर कामको अनुभव नमिल्ने जागिरकालागि समय खेर फाल्नु भन्दा । फेरी अर्को कुरा कामै नगरी अनुभवको प्रमाण पत्र बनाएर दिने संस्था र सही व्यक्तिलाई राज्यले छानबिन गरी केही सजाय त दिनु पर्ने होइन र? नक्कली शैक्षिक प्रमाण पत्र बनाएर जागिर खाएका सरकारी कर्मचारीलाई राज्यले सजायको दायरामा ल्याए झै नक्कली अनुभवको प्रमाण पत्र लिने र दिने दुबैलाई पनि कसुर त लाग्नु पर्ने होइन र?यस प्रकारका किर्ते कामले तत्कालको समस्या समाधान हुन सक्ला तर जिम्मेवारी पुरा गर्ने तथा आफ्नो क्षमता प्रदर्शन गर्ने ठाउँमा निकै अप्ठ्यारो पर्दछ ।
जता पनि प्रोजेक्टको चर्चा भएको अहिलेको समयमा एक जनालाई प्रोजेक्टको जागिर गर्ने रहर लागेछ । यो क्षेत्रमा अनुभव नभए पनि उनी प्रायः जसो दिन दिनै सम्पर्कमा आउन थाले । जरी भए पनि जागिर लगाई दिन पर्यो । मेरो त फलाना फलाना आफ्नो मान्छे । तत्कालै मैले कुनै संस्थामा स्वयंसेवक भएर काम शुरु गर्न तथा अनुभव बटुल्न सल्लाह दिए । तर उनले पनि होइन अनुभवको पत्र त म भोली नै बनाइहाल्छु भनेर जवाफ फर्काए । हो अनुभवको पत्र त बनाउन सक्लान तर अनुभव त सँगाल्न सक्दैनन् । काम नगरी पत्रले मात्र अनुभव भएको मानिने भए अहिलेको समयमा सबैले विशेषज्ञको पत्र बनाउँथे होला । मैले पनि घुमाउरो उत्तर दिए ।
केही समयपछि तीव्यक्तिले एउटा राम्रो प्रोजेक्टमा जागिर पाए । उनलाई बधाई छ किन भने बुढापाकाले भन्ने गरेको ‘जस्ताका दिन त्यस्तै कट्छन्’ भन्ने उक्ति सार्थक भएछ । तर म अझै पनि ति व्यक्ति लगायतलाई हरेकमा संभावना छ तर सो प्राप्तीका लागि तपाइले मेहनेत गर्नै पर्छ । यसै सन्दर्भलाई यो उक्तिले अझ प्रष्ट पार्दछ ।
तोरी तीलमा छ तेल भरिलो आफै कहाँझर्छ र ?
पेल्नै पर्छ यसलाई बिना प्रयत्न मुखमा आई कहाँ पर्छ र ?
हुन पनि कामै नगरी फल प्राप्त गर्न सकिदैन् । मेहनेत नगरिएको फल क्षणभरको हुन्छ ।
नेपालीहरुको यस्तो चालाले नेपालीहरुमा काम गरेर, केही सिकेर, अनुभव बटुलेर आफ्नो क्षमता बढाउनु भन्दा जसरी हुन्छ काममा झुण्डिने सोच बिकसित भएको पाईन्छ । कामबाट सिकाई हुन्छ भन्ने कुरालाई चटक्कै बिर्सेको भान हुन्छ । कामलाई पछि सार्ने हाम्रो परम्परा नै बनिसकेको छ । त्यसैले होला सरकारी काम कहिले जाला घाम भन्ने गरिएको ।
यस्तै अर्को प्रसङ्ग, हाम्रो छिमेकमै एउटा सरकारी कार्यालय छ । त्यहाँ कति कर्मचारी छन् र तिनको जिम्मेवारी के के हो? त्यो त मलाई थाह छैन । तर उनीहरु जाडोको समयमा दिनभरि जसो घाम तापेका देखिन्छन् भने गर्मीमा छहारीमा बसेका । यस्तो पारले पनि जागिर खाइदों रहेछ ।
एक दिन मेरा सहकर्मी साथीले तिनै छहारीमा बसिरहेका सरकारी कर्मचारी तर्फ इङ्कित गर्दै भने ‘तिनीहरुलाई हेर्नुस त । सधै बाहिरै हुन्छन् ।जागिर खाएकै छन् ।’ उनले आफूले गरेको कामको बचाउ गर्न खोजे । अझ उनले तपाई धेरै काम नगर्नुस्, बिरामी हुनु होला । धेरै काम गरेर कोही पुरस्कृत भएका छैनन् । उनले शायद कामको महत्व त्यति मात्र बुझेका होलान् ।
केही व्यक्तिको यस किसिमको चालाले काम गर्ने ब्यक्तिहरुमा पनि काम प्रति बेवास्ता जगाउँछ, उनीहरुलाई निराश बनाउँछ, काम भने कामचोरको त कुरै छोडौं । यस्तो सोंच, बिचार र अभ्यासले ती कर्मचारी कार्यरत कार्यालयले लक्षित काम समयमा सम्पन्न गर्न कत्तिको सक्छ होला? आम सेवाग्राहीले त्यहाँबाट समयमा सेवा पाउँछन् होला त? कति सेवाग्राही मारमा परेका होलान?।तर तिनै कर्मचारीको आवाज ठूलो हुन्छ र भन्छन् सुबिधा छैन् । तलब थेरैछ ।यस्तालाई यो उक्तिहरुले सद्बुद्धि दिन मद्दत गर्दछन् ।
गर्छौ पाप, खोज्छौ स्वर्ग, जान्दैनौं कर्मको गति ।
रिट्ठाको बोट रोपेरकहाँ फल्छ र कागती  ।।
काम गर्ने अवसर सधै एकै नासले आउदैन । कतिपय कामहरु तपाईले बिगतमा सम्पादन गरेका कामहरुले तान्ने गर्दछन् । आजको समय भनेको प्रतिस्पर्धाका समय हो ।आज हरेक काम गुणस्तरीय हुनु पर्दछ ।नत्र राम्रो काम गर्नेले सधै तपाईलाई उछिन्ने छ र तपाई सधै पछि पर्नु हुनेछ । तसर्थ हरेक काम महत्वपूर्ण हुन्छन् । तपाईले महत्वपूर्ण सम्झिनु भएको काम गर्दा बुद्धि, मेहनेत लगाउनु हुन्छ र त्यो गुणस्तरीय पनि हुन्छ । अर्को तिर कामलाई बेवास्ता गर्दा सो बाट सिक्ने कुरा त परै जाओस जीवन यथास्थितिमा मात्र रहन्छ, ज्ञान, सीप र क्षमता ओरालो तर्फ लाग्दछन् । क्षणिक सफलता पाएको जस्तो लाग्न सक्छ तर यस्तो अभ्यासमा लागेको व्यक्ति सधै पछि पर्दछ ।
सरकारी तथा गैरसरकारी संस्थाहरुमा पनि कामले काम सिकाउँछ । राम्रो सोंचले काम गरियो भने सो काम राम्रो र  दिगो हुन सक्छ । तर जागिर पचाउन मात्र काम गरेको सोच्नेहरु एउटा काम सिद्धिनासाथ घरमै थन्किएको प्रशस्त उदाहरणहर छन् । कामचोर र काम चलाउ काम गरेर समय काट्ने टिम भएका संस्थाद्वारा संचालित गतिबिधिहरुमा पहिला प्रश्न चिन्ह र पछि पूर्ण बिराम नै लाग्ने गरेकोछ ।
वास्तवमा कामले नै ब्यक्तिलाई परिपक्व र अनुभवी बनाउछ ।राम्रो कामले आफ््नो पेशा सुदृढ हुनाको साथै भबिष्य पनि सुन्दर हुन्छ । तसर्थ तपाई हामीले –‘परिश्रमको फल मिठो हुन्छ’– भन्ने बुझि आफनो लागि काम गरौ । तलब पकाउन, बाबुआमा, साथीभाई, छिमेकीलाई देखाउन भन्दा मनले नै कामलाई महत्व दिएर काम गरौं । यो संसारमा इमान्दार र लगनशील भएर काम गर्नेहरुले नै प्रशिद्धि कमाएका छन् ।

(लाेकप्रिय समाचार दैनिकमा १४ अगस्ट २०१६ मा प्रकाशित)

Recent Post

ToT on Institutional Fundraising

Workshop on Report Writing and Presentation Skills Development

Nepal Training and Research Hosts National Conference on Public Health

New Research Findings on Sustainable Development Practices Published

Nepal Training and Research Partners with Local Universities for Enhanced Educational Opportunities