‘Come to Learn, Go to Earn’

सानो ठाउँको ठूलो उपहार, लोकप्रिय समाचार

सानो ठाउँको ठूलो उपहार, लोकप्रिय समाचार
पृष्ठभूमिः
नेपालमा पत्रकारिताको ईतिहासलाई नियाल्दा सन् १८५१ तिर राणा कालका शक्तिशाली प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्कदा साथमा ल्यएको फलामे हाते प्रेस (गिद्घे प्रेस) नेपाल भित्रेसँगै नेपालमा विधिवत रुपमा पत्रकारिता शुरु भएको पाइन्छ । करिब एक सय बर्ष पछि वि.सं. १९५५ मा पहिलोपटक सुधासागर साहित्यीक मासिक पत्रिका प्रकाशन भएको देखिन्छ भने २००७ सालको परिवर्तनसँगै नेपालमा पत्रकारिताले केही गति लिन खोजेको आभाष हुन्छ । यद्यपि २०४६ सालको परिवर्तनपछि साच्चै आम नेपाली पाठकले पत्रकारिता फस्टाएको अनुभू ितगर्न पाए ।
यसैक्रममा सिन्धुपाल्चोक जिल्लामा वि.सं. २०३५ मा उमेद द्वैमासिक पत्रिकाको प्रकाशन शुरु भयो भने २०४६ देखि सिन्धु सन्देश निरन्तर प्रकाशित हुँदै आएको छ । हाल जिल्लामा दर्ता भएका करिब ७० जति पत्रिका मध्ये ९ वटा साप्ताहिक र १ दैनिक पत्रिका नियमित रुपमा प्रकाशन र्भ रहेका छन भने धेरै जसो विविध कारणवश बन्द भएका छन् । जिल्लाबाट प्रकाशित हुने एउटा मात्र दैनिक पत्रिका लोकप्रिय समाचार राष्ट्रिय दैनिक हो जुन वि.सं. २०७० असार ३१ गतेदेखि विधिवत प्रकाशन शुरु भएको थियो । चार बर्षको कलिलो उमेर पुरा गरी पाँचौ बर्ष प्रवेश गर्ने क्रममा रहेको सिन्धुपाल्चोक जिल्लाको एकमात्र राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक, सम्पादक, बजार व्यवस्थापक, समाचारदाताहरुलाई हार्दिक बधाई तथा शुभकामना ।
लोकप्रियसँगको सम्बन्धः
हरेक व्यक्तिको आफ्नै रुचि हुन्छ । व्यक्तिको रुचि अनुसार साथीभाई र पेशा रोज्ने गर्दछ । वि.सं. २०५३ सालमा नेपाल प्रेस इन्स्टिच्यूटबाट नेपालगञ्जमा सञ्चालित ३ महिने पत्रकारिता तालिम लिएर पत्रकारिताको क्षेत्रमा कलम चलाउन थालेको मलाई सन् १९९८ मा नेपाल प्रेस इन्स्टिच्यूटले दिएको ६ दिने खोज पत्रकारिताले थप उर्जावान बनायो । स्नातकको पढाईसँगै पत्रकारितालाई अगाडि बढाउँदै लगेको भए पनि त्यसताका पत्रकारिता पेशा गरेर जीवन धान्न नसकिने ठहर गरी रेडक्रसको जागिर तिर लागियो । तर पनि लेखन तथा सम्पादन कार्यलाई केही हदसम्म भए पनि निरन्तरता दिन वि.सं. २०५७ देखि २०५९ को चैत्र सम्म नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको त्रैमासिक बुलेटिन ‘सेवा’ को सम्पादकको भूमिकामा रहें भने र बि.सं. २०६० देखि २०७२ सम्म स्वीस रेडक्रसको सहभागितामा नेपाल रेडक्रस सोसाइटीबाट सञ्चालित सामुदायिक आँखा उपचार तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रमको त्रैमासिक बुलेटिन ‘चेतना’को सम्पादकको रुपमा काम गरियो । फाट्टफुट्ट समाचार, फिचर र लेख लेख्न अभ्यास गरेको समयमा वि.सं. २०६३ देखि ६४ सम्म नेपालगञ्जबाट प्रकाशित नयाँ संरचना राष्ट्रिय दैनिकको सम्पादकको भूमिका निर्वाह गर्न पुगे । साथै माथि उल्लेख गरेको सामुदायिक आँखा उपचार तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रमकालागि ३ वटा सफलताको कथा पुस्तिकाको सम्पादकको भूमिका पुरा गर्दा गर्दै विपद् व्यवस्थापनका क्षेत्रमा थप ज्ञान तथा अनुभव हाँसिल गर्न सन् २०१६ को जनवरी देखि सिन्धुपाल्चोकलाई कार्यक्षेत्र बनाउने क्रममा लोकप्रिय समाचारसँग साइनो गाँस्न पुगे ।
साँच्चै भन्दा रेडक्रसका संस्थापक जँ हेनरी ड्यूनाको कथा सुनेपछि युवा पीढीलाई समाज सेवाकालागि परिचालन गर्न २०५६ सालमा ५० बढी युवा जम्मा गरेर समुदायमा युवा रेडक्रस सर्कल गठन गरेर रेडक्रस प्रवेश गरेको र करिब १५ बर्ष बर्दिया, बाँके लगायत मध्यपश्चमाञ्चाल विकास क्षेत्रमा रेडक्रसका गतिविधि र कमाएको ख्याति नियालेको मैले सिन्धुपाल्चोकमा आउने वित्तिकै रेडक्रसको बारेमा नकारात्मक कुरा सुन्नु पर्यो । यो घटनाले यहाँका रेडक्रसकर्मीले रेडक्रसबारेमा सरोकारवाला र सर्वसाधरणलाई बुझाउन नसकेको अनुभूति भयो । त्यसपछि ‘रेडक्रस अरु गैरसरकारी संस्था भन्दा किन फरक ?’ शर्षिकमा साप्ताहिक रुपमा लेख लेख्न थाले जुन लोकप्रिय समाचारले प्रकाशन गरयो । त्यसैगरी बेलाबेलामा मैले लेख्ने गरेका समसामयिक लेखहरु पनि यस पत्रिकाले छाप्दै आयो । यसबाट लोकप्रियसँगको सम्बन्ध अझ नजिक भयो ।

लोकप्रियमा प्रकाशित सामग्रीहरुको विश्लेषणः
सन् २०१६ को जनवरीमा चौतारा टेकेपछि दैनिक रुपमा प्रकासन हुँदै आएको लोकप्रिय समाचार पढ्दै आएको छु । अझ आफूले लेखेका लेख छापिन थाले पछि त खोजी गरिने नै भयो । करिब डेढ बर्षको अनुभवमा यो पत्रिकाले दैनिक रुपमा समाचार, लेख, रचना, सूचना, सार्वजनिक सन्देश, विज्ञापन, लोक कल्याणकारी सूचना, जिल्लाका महत्वपूर्ण टेलिफोन नम्बरहरुको संयोजन गरेर हरेक विहान पाठकहरुको घरआँगनमा पुगेको छ । काठमाण्डौंबाट पत्रिका आउनु अगाडि नै यसले जिल्लाका चौतारा, बाह«बिसे र मेलम्ची बजारबासीलाई सुसूचित गर्ने गरेको कार्य प्रशंसनीय छ । चौताराको सानो ठाउँमा हरेक दिन १८ह२२ इन्च आकारको चार पृष्ठको दैनिक पत्रिकाको निरन्तर प्रकाशन गर्नु आफैमा चुनौतिपूर्ण छ र पनि यसले निरन्तरता पाइरहेको छ । जिल्लाबाट प्रकासित हुने दैनिक पत्रिका लोकप्रियले समग्र सिन्धुपाल्चोकको पत्रकारिताको इतिहाँसमा ठूलो योगदान गरेको छ भन्नुमा कञ्जुस्याइ गर्नु पर्दैन भन्ने मलाई लागेको छ ।
सामान्यतया पहिलो पृष्ठमा एउटा मुख्य समाचार र चार देखि पाँचवटासम्म समाचार प्रकाशन गर्दै आएको लोकप्रिय समाचारको दोस्रो पृष्ठमा सम्पादकीय र लेख प्रकाशन छापिने गरेको छ । त्यसैगरी तेस्रो पृष्ठमा विचारहरु, साहित्य, जिल्लाका महत्वपूर्ण टेलिफोन नम्बरहरु, सूचनाहरु अनि चौथो पृष्ठमा थप समाचार, कहिलेकाँही लेख, सूचना तथा विज्ञापन छापिने गरेको छ । आवश्यकता अनुसार पत्रिकाले सामाजिक संघसंस्थाहरुले गरेका कार्यहरुबारे आम पाठकहरु समक्ष पुरयाउने कार्य पनि गरेको छ ।
खास गरेर भुकम्प पश्चात जिल्लाको पुनर्निर्माण कार्यलाई सघाउन धेरै संघसंस्थाहरुले पनि भित्रिए, सरकारी निकायहरु पनि थपिए । ती निकायहरुबाट सम्पादन गरिने कार्यसँग सम्बन्धित सूचना, सन्देश, विज्ञापन छाप्न र जिल्लाका अन्य स्थानमा सरोकारवालाहरुले के के गरिरहेका तन भनेर थाहा पाउन यो पत्रिकाले सहयोग पुर्याइरहेको छ । त्यसैगरी भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनका क्रममा स्वतन्त्र किसिमले सबै दलसँग सम्बन्धित प्रचार सामग्री र विजयभए पछि बधाईहरु पनि प्रकाशित गरेर सहयोग गरिरहेको छ । समान्यतया हरेक दिन चारवटै पृष्ठमा सामग्रीको संयोजन उचित किसिमले भएका देखिन्छ । यद्यपि सुधार गर्नु पर्ने ठाउँहरु पनि प्रशस्त देखिन्छ ।

भावी दिनमा अझै लोकप्रिय हुन केही सुझावहरुः
हामी सबैलाई थाहा छ, हरेक व्यक्तिको छुट्टा–छुट्टै पहिचान भए झै पत्रिकाको पनि विशेष किसिमको छुट्टै पहिचान हुनु र बनाउनु जरुरी छ । खासगरेर पत्रिकाको पहिचान यसले प्रकाशित गर्ने सामग्रीहरुमा निर्भर हुन्छ । पत्रिका समाजको ऐना हो जसले सबै खालका पाठकको मन जित्न सक्नु पर्छ अनि मात्र सबैले पत्रिका खोजि खोजि पढ्न थाल्छन र साच्चै लोकप्रियता बढ्छ । तसर्थ आगामी दिनमा लोकप्रिय अझबढी लोकप्रिय हुन केही सुधार आवश्यक छ जसलाई यहाँ बुँदागत रुपमा उल्लेख गरिएको छ ः
१. आफ्नै जनशक्ति विकास गर्नु पर्ने ः
करिब डेढ बर्षको अवधिमा पत्रिकाका प्रधान सम्पादक बाहेक अन्य कुनै पनि व्यक्ति म लोकप्रिय समाचारको प्रतिनिधि वा पत्रकार भनेर जिल्लामा भएका कार्यक्रमहरुका परिचय दिएको पाइएको छैन । तसर्थ पत्रिकाको दीगोपनको लागि सबै भन्दा महत्वपूर्ण पक्ष जनशक्ति विकास गर्नु तर्फ समयमा ध्यान दिन जरुरी छ । जनशक्ति विकास गर्ने प्रशस्त संभावनाहरुको पहिचान गरी विकास गर्नु जरुरी छ । त्यसैगरी अहिले सम्मको पत्रिकाको साख अझै बढाउन लोकप्रियले हरेक गाउँ र नगरपालिकामा कम्तिमा एक जना सम्वाददाता र बजार व्यवस्थापकको व्यवस्था गर्नु अपरिहार्य छ जसबाट ती गाउँ तथा नगरपालिकामा रहेका विषयबस्तुलाई बाहिर ल्याउन मद्दत होस र गाउँ तथा नगरका केन्द्रमा लोकप्रिय समाचार पढ्न पाउने व्यवस्था मिल्न सकोस ।
२. नयाँ लेख तथा विचारहरु प्रकाशित गर्नु पर्ने ः
अहिले लोकप्रिय समाचारमा प्रकाशित करिब सतप्रतिशत लेखहरु अन्य पत्रिका वा अनलाइनबाट कपि गरिएका छन् । सञ्चारले फड्को मारिरहेको अहिलेको युगमा लोकप्रियमा आउन अगाडि नै ती लेखहरु पाठकले पढिसकेको अवस्था छ । तसर्थ पत्रिकाले कम्तिमा हरेक दिन फरक विषयको नयाँ लेख छाप्न जिल्ला भित्र वा बाहिर रहेका लेखकहरुसँग कम्तिमा ७ जना लेखकहरुसँग हप्ताको एउटा लेख उपलब्ध गराउन समन्वय गर्न जरुरी छ । अन्तबाट कपि गरिएको सामग्रीले केही दिन चल्न सक्छ तर नयाँ लेख तथा विचार पढ्न चाहने ग्राहकलाई यसले समेटन सक्दैन ।
३. सबै खालका पाठकलाई मन पर्ने सामग्री छाप्नु पर्ने ः
डेढ बर्षसम्म लोकप्रिय समाचारका प्रायः सबै अंक हेर्दा यसले समाजमा रहेको सबै खालका पाठकहरुलाई समेट्ने खालको सामग्रीहरु प्रकाशन गर्न नसकेको अनुभुति भएको छ । यसकालागि साप्ताहिक तालिका बनाएर कुन कुन दिन कुन कुन सामग्री प्रकाशन गर्ने निश्चित गरेर सामग्री उपलब्ध गराउने व्यक्ति वा निकायसँग पनि प्रभावकारी समन्वय गर्नु आवश्यक छ । उदाहरणका लागि लोकप्रियले बालबालिका वा व्यापारी लक्षित सामग्री कुन बार प्रकाशित गर्ने ? त्यसैगरी दलित, जनजाति, अपाङ्ता भएका व्यक्ति लक्षित सामग्री हप्ताको एउटा बार प्रकाशित गर्ने निश्चित गरेमा ती व्यक्तिहरु पत्रिका पढ्न इच्छु हुन्छन् । उनीहरुको नेटवर्कमा पत्रिकाको सामग्री बारे छलफल हुन्छ र लोकप्रिय खोजेर पढ्ने ग्राहकको संख्या बढ्छ ।
४. सत्चरित्रता अझै कायम गर्नु पर्ने ः
मिडिया निष्पक्ष एवम् तटस्थ भै समाजलाई सुसूचित गर्ने संयन्त्र हो भने पत्रिका मिडियाको एउटा महत्वपूर्ण तत्व । हामी कहाँ अझै पनि पाठकहरु पूर्ण सचेत छैनन भएका जति पनि यो पत्रिकाको फलानो फलानो यस्तै हुन भनेर चुप लागेर बस्ने गरेका छन् । समान्यतया पत्रिकाका सम्पादक र प्रकाशकले पाठकबाट यस्तो गुनासो आउन नदिन हालकोभन्दा बढी पेशागत सत्चरित्रता प्रस्तुत गर्नु आवश्यक छ । साथै गोपनियताको हकलाई सम्मान गर्दै आचारसंहिताको पूर्ण पालना गर्नु गराउनु पर्दछ ।

५. सामाजिक उत्तरदायित्व पुरा गर्नु पर्ने ः
व्यावसायिक रुपमा पत्रिका प्रकाशन गर्दा समाजमा पर्ने असरबारे पनि सचेत हुनु जरुरी हुन्छ । खास गरेर पत्रिका प्रकाशित गर्ने क्रममा संलग्न पत्रकार तथा कर्मचारीहरु र तिनमा आश्रित परिवारका सदस्यहरुलाई प्रत्यक्ष असर पर्ने गर्दछ । तसर्थ पत्रिकाले पनि आफ्नो सामाजिक उत्तरदायित्व पहिचान गरी पुरा गर्ने तर्फ लाग्नु पर्दछ ।

६. पारदर्शिता कायम गर्नु पर्ने ः
पत्रकार र पत्रिकाका प्रतिनिधिहरुले सबैलाई पारदर्शी नभएको भनि प्रश्न गर्ने वा नभएकालाई हुन सचेत गराउने गरेका छन । तर के संचार माध्यमहरु साँच्चै पारदर्शी छन त ? यो पनि मनन गर्नु पर्ने समय भएको छ । आजकल पत्रकारहरु पनि कालोधन कमाउन उद्धत रहेको आरोप बढ्दै गरेको परिप्रेक्ष्यमा लोकप्रियले पनि आफ्नो आम्दानीको हिसाब किताब जस्ताको तस्तै प्रस्तुत गर्नु आवश्यक हुन्छ होला ताकि कमसेकम अन्य मिडियाको माझमा लोकप्रिय पारदर्शी छ भनेर ढुक्कसँग भन्न सकियोस ।
७. पाठकको सन्तुष्टी सर्भेक्षण गर्ने ः चौताराबाट प्रकाशित लोकप्रिय समाचार हरेक दिन १००० प्रति प्रकाशित हुन्छ । यसमध्ये पत्रिकाका नियमित ग्राहक ३५० जति मात्र छन् । पत्रिका किनेर पढ्ने अभ्यास छैन भनेर प्रकाशक टक्टकीने गर्दछौं तर पाँच बर्ष टेक्न लाग्दा कति पटक पाठक सन्तुष्टी सर्भेक्षण गर्यौं ? पाठकहरु लोकप्रियमा कस्तो सामग्री छापिएको हेर्न र पढ्न चाहन्छन् भनेर कति पटक परामर्श गर्यौं ? हामी बिहानको एक छाक नराम्रो खाना खानु पर्दा साँझ नै होटल परिवर्तन गर्छौ तर सधै एकै किसिमका सामग्री प्रकाशित हुने पत्रिका पाठकले मन पराउछन् त ? सबै पाठकलाई समेट्न र उनीहरुको सल्लाह अनुसारको सामग्री प्रकाशित गर्न पनि पाठकको सन्तुष्टी सर्भेक्षेणलाई नियमित अभ्यासको रुपमा व्यवहारमा उर्तान सके आगामी दिनमा लोकप्रिय अझै लोकप्रिय हुन सक्छ ।

उपसंहारः
विभिन्न आरोह अवरोहकाबीच लोकप्रिय समाचारले आफ्नो चार बर्षे यात्रा पुरा गरेको छ । प्रशस्त विकासका संभावनाहर बोकेर काठमाण्डौसँग जोडिएको भए पनि पछाडि परिरहेको सिन्धुपाल्चोकका नीति निर्माता, सरोकारवालाहरु र आम जनतालाई भै रहेका काम, प्राप्त उपलब्धीबारे सुसूचित गर्न लोकप्रियले हरेक दिन प्रयास गरेको छ । चौतारा जस्तो सानो ठाउँबाट पनि चार पृष्ठको पत्रिका दैनिक रुपमा प्रकाशित गरेर यसका प्रकाशक सम्पादकले सिन्धुवासीलाई विहान उठ्ने वित्तिकै अद्यावधिक विभिन्न विषयबस्तु जानकारी गराउने पत्रिका उपहारको रुपमा उपलब्ध गराउँदै आउनु भएको छ । यसलाई यहाँका पाठकले ठूलो उपहारको रुपमा ग्रहण गर्दै आएको देखिन्छ । तथापि बद्लिंदो समय अनुसार पत्रिकाको ख्याति अझै बढाउन निरन्तर प्रयास गर्नुु आवश्यक छ । (लेखक नेरेसाे सिन्धुपाल्चाेकमा जिल्ला कार्यक्रम संयाेजक हुनुहुन्छ)

 

Recent Post

ToT on Institutional Fundraising

Workshop on Report Writing and Presentation Skills Development

Nepal Training and Research Hosts National Conference on Public Health

New Research Findings on Sustainable Development Practices Published

Nepal Training and Research Partners with Local Universities for Enhanced Educational Opportunities